हाम्रो बारेमा
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान, किरात खम्बुवान, शेर्पा, तामाङसालिङ, नेवा:, तमुवान, मगरात, खसान, थरुहट, मधेश र शिल्पी (दलित) वा १०+१ प्रान्त र त्यसभित्र सिमान्तकृत आदिवासीहरुको विशेष स्वायत्त क्षेत्रसहितको पूर्ण संघात्मक शासन व्यवस्था स्थापना गर्न २०६२ सालमा निर्माण भएको राजनैतिक दल हो। यो मञ्चले लिम्बुवानलाई आफ्नो आधार क्षेत्रको रुपमा विकसित गर्दै समग्र नेपालमा ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा संघीय आन्दोलन चर्काउन ठूलो योगदान गरेको छ। २०६४ सालमा अन्य पहिचानवादी दलहरुसँग मिलेर १८ दिने सशक्त आन्दोलन चर्काएर सोही आन्दोलनको बलमा २०६४ साल फागुन १८ गते सरकारसँग लिम्बुवान, खम्बुवान, थरुहट, तामाङसालिङलगायतका प्रान्तहरु स्थापना हुने भन्ने ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी पहिलो संविधान सभाको चुनावमा सहभागी भई दुई जना सभासद पनि पठाएको थियो। त्यस पछिका ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा लिम्बुवानसहितको १०+१ प्रान्त स्थापनाको आन्दोलनमा यस मञ्चले अग्रणी भूमिका खेलिरहेको छ।