तपाइलाई तत्कालीन राजा महेन्द्रले वारेन्ट गर्नु, अनि त्यही महेन्द्रसँग दिल्लीमा भेट भएर उ सँगै प्लेनमा काठमाण्डौ आएर उनै महेन्द्रको चिठी लगेर चीनको बादशाहजस्तै नेता माओत्सेतुङसँग तपाईं १८/१९ वर्षको कलिलो उमेरमा भेट्नु, यो त कुनै फिल्मको कथाजस्तै छ, यसबारेमा थोरै बताई दिनुस न।
मेरो घर तमुवानको मनाङ हो। मनाङतिर तिब्बती खम्पाहरुले दु:ख दिने गरेकोले राणाकालमा नै मेरो बाजेलाई काठमाण्डौको सरकारले अलिक पुरानो खालको राइफल, बन्दूक गरेर ५०० थान हतियार दिएको थियो। साथै ती हतियार चलाउनको लागि ५०० जना मिलिसिया भर्ती गर्ने अधिकार पनि दिएको थियो। त्यो हतियारहरु मेरो बाजे, मेरो बाबुपछि मेरो पाला सम्म आइपुग्दा पनि थियो। २००९/१० सालतिर कसैले काठमाण्डौ हल्ला लगाइदिएछ कि खगेन्द्रजंग गुरुङले हतियार जम्मा गरेर गुरिल्ला ट्रेनिङ गर्दैछ भनेर। त्यो हल्लाको कारणले त्यसबेलाको युवा महेन्द्रले ममाथि नजर दिएको रहेछ।
यसरी काठमाण्डौको सिंहदरबारले मलाई खोज्दैछ भन्ने थाहा भएपछि म मनाङबाट उत्तर तिब्बत गए र एक महिना हिँडेर दार्जिलिङ पुगे। अब यो सानो ठाउँमा बस्न खतरा हुन्छ भनेर ठूलै ठाउँ दिल्ली गए। दिल्लीमा अचानक महेन्द्रसँग भेट भयो। उनी उनको बुबा त्रिभुवनलाई स्विजरल्याण्डमा उपचार गराउन लाने ल्याउने क्रममा दिल्लीमा रहेछन्। जोसँग भागिरहेको थिए उसैसँग पो भेट भयो। लामो कुराकानीपछि महेन्द्रसँगै म प्लेनबाट काठमाण्डौ आए।
त्यसबेला महेन्द्र र बिशेष गरेर कांग्रेसका बाहुन नेताहरु वीचमा टक्कर चलिरहको थियो। यसै समयमा महेन्द्रले मलाई भने, ‘खगेन्द्र, तिमीले मेरो एउटा चिठ्ठी लगेर चीनको नेता माओत्सेतुङकोमा पुग्नु पर्यो। तर, तिमी गएको बारे मबाहेक कसैलाई थाहा नहोस्।’ भ्रमण अति गोप्य भएकोले मैले महेन्द्रको चिठी झोलामा बोके र घर गएको जस्तो गरेर मनाङ गएँ र त्यहाँबाट हिँडेर नै तिब्बत पुगें। यसरी म अति दु:ख गरेर चीनको राजधानी बेइजिङ पुगें र माओलाई भेटें।
माओसँगको भेटको बारेमा र त्यो ऐतिहासिक चिठी भित्र लेखिएको बिषयबारेमा केही बताई दिनुस् न।
माओको पहिरन साधारण नै थियो। माओको बोलाई हाउभाउ हाम्रै गाउँको कुनै बुद्धिजीवी, विवेकी काकाहरुले
अर्तीको शैलीमा हामीलाई सम्झाए तरिकाले बोल्दथे।
चिनियाँ इतिहासका पुराना कुराहरुको प्रसंग कोट्याउँदै बोल्दथे। माओले मलाई सोधे, ‘यो पत्रमा के लेखिएको छ ?
तिमीलाई थाहा छ ?’ मैले थाहा छैन भने। तब माओले पत्रमा लेखिएको कुरा सुनाउन थाले। म आज पनि छक्क पर्छु – एउटा देशको राजाले पठाएको पत्र त्यसबेलाको विश्वकै चर्चित नेता माओले किन मलाई सुनाए होला ? सायद १८/१९ वर्षको युवा देखेर उनको र मेरो अनुहार मिलेर माया लागेर सुनाएको होला कि। महेन्द्रले लेखेको पत्रको भित्रि कुराहरु माओको मुखबाट मैले सुन्ने अवसर नपाएको भए मेरो जीवन यो जातीय मुक्तिको बाटोमा आउने थियो कि थिएन केही थाहा छैन। जब पत्रको सबै कुराहरु माओको मुखबाटै सुनें तब मेरो जिन्दगी जातीय मुक्तितिर अघि बढ्यो। कतिपय हल्ला छ कि माओले मलाई सम्झायो वा कान फुकी दियो। तर, माओले मलाई कान फुकेको होइन बरु माओले मलाई नेपालबाट लगेको पत्र उल्था गर्दै सुनाएको हो। पत्रमा महेन्द्रले यस्तो लेखेका रहेछन, ‘नेपालका गैरआदिवासी जातिका नेताहरुको दही चिउरे नीतिले म वाक्क भइसकें, यिनीहरुको कारणले देशको राष्ट्रियता खतरामा छ। अब देशको बिकास गर्न र राष्ट्रियता जोगाउन मैले नेपालका आदिवासीहरुलाई
अघि बढाउँदैछु, अब म थातथलो खुलेका जातिहरुको बस्ती भएको ठाउँमा उनीहरुको प्रतिनिधि चुनिने गरी
क्यान्टोनहरुको व्यवस्था गर्दैछु। यसका लागि यहाँको शासन व्यवस्थामा मैले केही परिवर्तन गर्दैछु त्यसको लागि मलाई चीनको समर्थन र सहयोग चाहियो।’
त्यही पत्रबाट मेरो दिमागमा जातीय क्यान्टोनहरुको कुरा अलिक प्रष्ट भयो र पछि महेन्द्रले बनाएको मन्त्री मण्डलमा २०१३ साल र २०१९ सालमा म मन्त्री हुनुको मुख्य कारण नै महेन्द्रको त्यो चिठ्ठीमा उल्लेख क्यान्टोनको कुराले आकर्षित गरेर हो। माओले भनेका थिए, ‘नेपालमा कम्युनिस्ट वा पुँजीवादी शासन होइन स्वीजरल्याण्डजस्तो तटस्थ शासन व्यवस्था चाहिन्छ। कि अब कम्युनिष्ट आउँदा विश्वमा एकैपल्ट आउनु पर्यो, त्यो अवस्था नआइञ्जेल नेपालले पुँजीवाद र कम्युनिष्टवीच तटस्थ भूमिका खेल्ने शासन व्यवस्था अंगालेको राम्रो हुन्छ।’
यसरी थातथलो खुलेका आदिवासीहरुलाई क्यान्टन दिन्छु भन्ने महेन्द्र २०१९ सालको एउटा घटनादेखि पूरै परिवर्तन भए। त्यो घटना आज पनि म सम्झन्छु, ‘थुप्रै स्वदेशी विदेशी हिन्दू पुजारीहरु थिए। महेन्द्र र रत्नको लागि सुनको कुर्सी, सुनको टेबल, सुनको जुत्ता, हात धुने खुट्टा धुने भाँडाहरु सुनकै थियो। उक्त सुनको कुर्सीमा महेन्द्र र रत्नलाई बसाएर ती हिन्दू पुजारीहरुले महेन्द्रको खुट्टा धोएर पानी खाए र आजदेखि महेन्द्र हिन्दू राजा र यो देश हिन्दू देश भयो भनेर सबै जनाले भने। हो त्यही दिनदेखि महेन्द्र क्रमश: परिवर्तन भए। उनले माओत्सेतुङलाई भनेको भनाइहरु बिर्सदै गए।
२०१९ सालपछि तपाईं र महेन्द्रको सम्बन्ध, तपाइले मन्त्रीबाट राजीनामा दिनुपर्ने कारण, तपाईंको नेतृत्वमा २०२३ सालमा भएको तमुवानको लागि ऐतिहासिक जुलुश र २०३६ साल, २०४७ साल, २०५२ सालको घटनाक्रमहरुलाई संक्षिप्तमा बताई दिनुस न।
वास्तवमा म महेन्द्रसँग टाँसिएर गएको होइन, उसले नै बोलाएको हो, र म कसैसँग झुकेर जाने व्यक्ति पनि होइन। माओले महेन्द्रको चिठीमा नेपालका आदिवासीहरुको लागि क्यान्टोनहरु निर्माण गर्ने उल्लेख छ भनेर भनेका हुन् र माओ स्वयंले नेपालमा कम्युनिष्ट पुँजीवाद भन्दा पनि तटस्थ खाले शासनपद्धति चाहिन्छ भनेको हुनाले मलाई तमुवानलगायत जातीय स्वायत्तताको कुराले बढी आकर्षित गरेको हो। तर, २०१९ सालमा चितवनतिर कांग्रेसको नाममा भकाभक गुरुङ युवाहरुलाई सेनाले मार्न थालेपछि मैले महेन्द्रलाई तुरुन्त जानकारी गराएको हुँ। कांग्रेसको बिद्रोहमा सहभागी भयो भनेर धेरै गुरुङ युवाहरुलाई हाताहात पारिए पछि महेन्द्रले दिएको मन्त्री पद रगतले साटेजस्तो लाग्यो र मैले राजिनामा दिए। तर २०१९ सालमा हिन्दू सम्राट घोषणा भएपछि महेन्द्र हामी कसैको कुरा नसुन्ने भइसकेका थिए।
यसै क्रममा २०२३ सालमा हामीले तमु स्वायत्तताको माग गर्दै मनाङबाट लमजुङ गोर्खा हुँदै हजारौं तमुहरुको काठमाण्डौ मार्च शुरु गर्यो। उक्त मार्चको नेतृत्व गरेको आरोपमा मलाई गोर्खामा गिरफ्तार गरियो र साढे दुई वर्ष जेलमा कोचियो। मार्चमा सहभागी हजारौं तमुहरुलाई कि घर फर्काउ नत्र सिधै गोली हान्ने आदेश महेन्द्रले दिएको छ भनेपछि मैले नै मार्चमा सहभागी हजारौं तमुहरुलाई सम्झाएर घर फर्काएँ। जुन तमु स्वायत्तताको लागि २०२३ सालमा हामीले त्यत्रो बिशाल मार्चपास गर्यौं। यो सपनालाई पूरा गर्ने कुनै न कुनै युवा पुस्ताहरु जन्मनेछन् भन्ने आत्माविश्वासका साथ हामीले हाम्रो आत्मामा तमुवानको सपनालाई मर्न दिएनौं।
२०३६ सालमा बहुदल कि निर्दलतिर लाग्ने भनेर सेतामगुरालीका धेरै नेताहरु काठमाण्डौमा भेला भयौ। हामी गुरुङहरुले बहुदलको पक्षमा भोट हाल्ने भन्यौ, तर पूर्व तिरका साथीहरुले निर्दलमा भोट हाल्ने भने।
त्यही बेला कोही साथीहरुले सेतामगुराली भन्दा पनि मंगोल भन्नु पर्छ भन्ने तर्क ल्याए।
२०४७ सालमा मेरै अध्यक्षतामा नेपाल राष्ट्रिय जनजाति पार्टी गठन भयो। नेपालमा संघीयताको स्पष्ट खाका पहिलोपल्ट ल्याउने पार्टी त्यही नै थियो। त्यसबेला संविधान निर्माणको चरण थियो। हामी आदिवासीहरुले पनि पूर्व–पश्चिम भेला भएर ३ लाख मान्छेले काठमाण्डौमा शान्तिपूर्ण धर्ना गरौं भन्ने मैले प्रस्ताव गरेको थिएँ। तर, मेरो प्रस्तावलाई साथीहरुले गलत तरिकाले बुझे। खगेन्द्रजंगको पछि लाग्नु हुँदैन सबै मरिन्छ भनेर हाम्रै साथीहरुले अफवाह फैलाए। वास्तवमा मैले चीन, भारत र विश्व सबैलाई पढेर नेपालमा आदिवासीहरुद्वारा शान्तिपूर्ण बिद्रोह आवश्यक छ र पुरा विश्व यस पक्षमा छ भन्ने बुझेर यो प्रस्ताव गरेको थिए, तर साथीहरुले बुझेनन् र म अध्यक्षमा रहँदा उहाँहरुलाई काम गर्न गाह्रो भएको महसुस गरेर म आफै अलगिए। पछि जनजाति र मोर्चा मिलाएर नयाँ पार्टी बनाए भन्ने सुनें। मेरो विचारमा पार्टीहरु त धेरै जन्मन्छन्, तर मुख्य कुरा नेतृत्वको दिल दिमागमा क्रान्तिको आगो बलेको छ कि छैन भन्ने नै महत्वपूर्ण कुरा हो।
पछि माओवादी जनयुद्ध बढ्दै गएपछि प्रचण्डले पनि भेट्नु खोजेको खबर पठाइ रहे। र ज्ञानेन्द्रको मान्छेले पनि माओवादीसँग सम्पर्क गरिदेउ भनेर भनिरहे। त्यही क्रममा मैले माओवादीसँग सम्पर्क बढाएँ र पछि माओवादी भनेर गोर्खा छेउमा इन्काउन्टर गर्न खोज्यो। इन्काउन्टर गर्ने बेलामा मेरो शरीर खान तलास गर्दा महेन्द्रले सही गरेर दिएको पेस्तोलको लाइसेन्स भेटेपछि ती सेनाहरु हच्के।
तपाईंले तपाइको जीवनमा लामो उतार चढाव भोग्नु भएको छ, आखिर तपाईंको जीवन यात्रा केको खोजीमा हो त ?
म तमुवानलगायत सबै आदिवासीहरुले आ–आफ्नो स्वायत्तता पाओस् भन्ने एक यात्री एक अभियन्ता हँु। म जहाँ रहे त्यहाँ तमुवानको कुरा गर्न कहिले छोडिन।
वि.सं. २०२३ सालमा नै यतिधेरै चम्किएको तमुवान आन्दोलन आज किन सुस्ताएको जस्तो छ त ?
तमुवान आन्दोलन केही सुस्ताएको अवश्य हो, तर तमुवान आन्दोलन निभेको छैन र यो कहिले निभ्ने पनि छैन। आज पनि तमुहरुको मनभित्र तमुवानको सपना ज्युँदो नै छ। तर, तमुवान एकदमै रणनैतिक वा देशको मध्य भागमा रहेकोले इतिहासको हिजोदेखि आजसम्म तमुवानमाथि राज्यले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिरहेको छ। तमुवान माथि राज्यले प्रत्यक्ष्य अप्रत्यक्ष दमन बढाएको छ त्यसैले पनि तमुवान आन्दोलन सुस्ताएको जस्तो देखिएको हो। तर, उचित समयमा तमुवान आन्दोलन जुरुक्क उठ्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
Comments are closed.