पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

भदौ ७ गते टीकापुरमा लाखौं थारुहरु भेला हुँदैछन्

रामप्रसाद चौधरी थारु

तपाईंको पूर्ण परिचय बताइदिनुस न।
मेरो नाम रामप्रसाद चौधरी थारु हो। मेरो जन्म कैलाली जिल्ला, जोशीपुर ४ झबहीमा २०२६ पुस १७ मा भएको हो। मेरो बुबाको नाम हाकिम दगौरा थारु र आमाको नाम प्यारी देबी दगौरा हो।

टीकापुरमा कुन मितिमा राजनैतिक घटना भएको थियो र टीकापुर पुग्न कुन बाटोबाट जानु पर्छ?
२०७२ साल भदौ ७ गते टीकापुरमा राजनैतिक घटना भएको हो। टीकापुर पुग्नको लागि पूर्व पश्चिम राजमार्गको लम्की भन्ने ठाउँबाट १४/१५ किलोमिटर दक्षिण जानुपर्छ। लम्कीबाट बस पाइन्छ।

टीकापुर घटना हुँदा तपाई थरुहट संयुक्त आन्दोलनको कुन जिम्मेवारीमा हुनुहुन्थ्यो?
म थरुहट संयुक्त आन्दोलनको प्रत्यक्ष जिम्मेवारीमा त थिइन। तरपनि त्यो आन्दोलन थारुहरुको संयुक्त आन्दोलन भएकोले जो जुनसुकै पार्टीमा भए पनि आ–आफ्नो ठाउँमा सक्रिय भूमिका निभाउनु पर्ने भन्ने थियो। त्यसबेला म लोकतान्त्रिक फोरमको कैलाली क्षेत्र नं. ३ को सभापति भएकोले म र चुन्निरामजी मिलेर आफ्नो क्षेत्रको आन्दोलन संयोजकको भूमिका निभाइरहेका थियौं।

टीकापुर घटना भएको समय थारु आन्दोलनको उचाई कस्तो थियो?
त्यस समयमा थारु आन्दोलन धेरै उचाइमा पुगेको थियो। भनौं न त्यस समयको थारु आन्दोलन उत्कर्षमा पुगेको थियो। यदि टीकापुर घटना नभएको भए नयाँ संविधानमा थारुहरुले थरुहट प्रान्त लेखाएरै छोडथे, कसैले रोक्न सक्दैनथ्यो, आन्दोलन त्यो उचाइमा थियो। त्यत्रो त्यत्रो फराकिला सडकहरुमा खुट्टा राख्ने ठाउँ पाइन्दैनथ्यो।

टीकापुर घटना पछि सबै भन्दा पहिले तपाईंलाई पक्राउ गरियो र सबै भन्दा बढी यातना तपाईंलाई दिइयो भन्ने छ नि?
तपाईंहरुले सुन्नु भएको कुरा सही हो। सबै भन्दा पहिले वा घटनाको भोलिपल्ट भदौ ८ गते दिनको २ बजे मलाई मेरै घरबाट पक्राउ गरियो। मलाइ पक्राउ गरेपछि मेरो घरबाट जिल्ला प्रहरी कार्यालय कैलाली धनगढी लाँदा बाटोमा जति पनि प्रहरी पोस्टहरु छन् ती सबै प्रहरी पोस्टमा मलाई भित्र लान्थे र त्यहाँ रहेको सबै प्रहरीले मलाई कुट्थे, म कुटाइले बेहोस हुन्थें, उनीहरुले फेरि होशमा ल्याउँथे र फेरि कुट्थे, धनगढी पुगिञ्जेल मलाई यसरी नै सबैले पालो पालो कुटे। सायद म शारीरिक रुपमा स्वस्थ नभएको भए एक दुई वटा चौकीमा कुटाइ खाँदा नै शहीद भइसक्थें। यसरी भदौ ८ देखि २४ गतेसम्म मलाई जेलमा पनि भयङ्कर यातना दियो, जसको कारणले मेरो देब्रे करङ, पाखुराको हड्डी र घुँडा क्रेक भएको छ र अहिले उपचार गराइरहेको छु।

त्यो घटना भएको समयमा आन्दोलन त शान्तिपूर्ण नै थियो नि? अनि सरकारको प्रारम्भिक प्रतिवेदनमा दुई सुरक्षा निकायको तालमेल नमिलेर यस्तो घटना भयो भन्ने पनि थियो नि?
आन्दोलन एकदमै शान्तिपूर्ण थियो। स्वभावले नै थारुहरु सहज, सरल र शान्तिप्रिय हुन्छन्। अनि हामीले एक्कासी झडप गर्नको लागि टीकापुरमा कार्यक्रममा राखेको होइन नि। किनकि, थारुको संयुक्त आन्दोलन त २०७२ साल साउन २२ गतेदेखि नै शुरु भइसकेको थियो। टीकापुर भन्दा अघि हामीले धनगढी, लम्की, बहुनिया, भजनी, चुहा भन्ने ठाउँमा थारुहरुको बिशाल बिशाल आमसभा गरिसकेका थियौं। सबै कार्यक्रमहरु शान्तिपूर्ण रुपमा सम्पन्न भएका थिए।
तर ती सबै कार्यक्रमहरुमा दुइ प्रहरी बिभागको पटक्कै तालमेल नमिलिरहेको प्रस्ट देखिन्थ्यो। उनीहरु वीचमा संयोजन सहकार्य थिएन अनि थारुहरुको आन्दोलनलाई बेवास्ता गरिरहेको स्पस्ट देखिन्थ्यो। सुरुमा सरकारले पनि त्यही भनेको तर पछि सुरक्षा कर्मचारीको गल्तीले भएको घटनामा थारु माथि रिसइबी साँधियो। म त यति भन्छु एकदिन इतिहासले यस घटनाको सही छानबिन गर्नेछ।

त्यसबेला थारु समुदायको मुख्य मुख्य मागहरु के के थिए?
नेपालको इतिहासमा थारु समुदायले अहिलेसम्म गुमाएको गुमाएकै छ, केही पाएको छैन। त्यसैले नेपालको नयाँ संविधान निर्माण हुँदा थारुहरुको क्लष्टर (ऐतिहासिक थातथलो) लाई समेटेर थरुहट स्वायत्त प्रान्त बन्नुपर्छ भन्ने त्यसबेलाको प्रमुख माग थियो। उक्त समयमा लिम्बुवान, खम्बुवान, मधेश सबैले आफ्नो प्रान्तको लागि कुरा उठाइरहेकै थिए।

जेलबाट बाहिर आउनु भएको छ, तपाईंहरुको अबको तत्काल कार्यक्रमहरु के कस्ता छन्?
४२ महिना जेलमा बस्दा मनमा अनेक कुराहरु खेल्थे। हामीले सम्पूर्ण थारुहरुको लागि आन्दोलन गरेको हो र सम्पूर्ण थारुहरु आन्दोलनमा पनि सहभागी भएकै हो, तर टीकापुरको घटना र हाम्रो गिरफ्तारीले थारुहरुको सबै आन्दोलन तितरबितर भयो कि भनेर खुब चिन्ता लाग्थ्यो। तर लिम्बुवान, मगरात, खम्बुवान, थरुहट, अन्य आदिवासी अभियन्ताहरु हामीलाई जेलमा भेट्न आइरहँदा आन्दोलन मरेको छैन र मर्नेछैन भनेर आफसेआफ आत्मा दह्रो हुन्थ्यो।
जेलबाट फागुन २२ गते बाहिर आएपछि चैत १६ गते बर्दियामा थारु आगुवाहरुको बृहत भेला भयो। त्यसपछि हामी जिल्ला जिल्लामा भेटघाट गरिरहेका छौं। र, यही २०७६ भदौ ७, ८, ९ गते कैलालीको टीकापुरमा थारुहरुको राष्ट्रिय भेला आयोजना गरेका छौ। उक्त कार्यक्रमको उद्घाटन सत्र भदौ ७ गते टीकापुरमा १ लाख थारुहरुको शान्तिपूर्ण भेला हुनेछ।

अब थारुहरु पुन संगठित हुने र अन्य आदिवासी/पहिचानबादीहरुसँग मिलेर राष्ट्रिय स्तरको राजनैतिक शक्ति निर्माण गर्ने सम्भावना छ कि छैन?
थारु र अन्य आदिवासीहरु सहकार्य गरेर राष्ट्रिय राजनैतिक शक्ति निर्माण अवश्य हुन्छ, अवश्य निर्माण गर्नु पर्दछ, यो संयुक्त शक्ति चाँडै निर्माण हुनेछ भन्नेमा म बिश्वस्त छु।

अहिले पनि जेलमा बन्दी बनाइनु भएका निर्वाचित माननीय रेशम चौधरीलगायत अन्य बन्दीहरुको रिहाइको लागि आगामी भदौ ७ गतेको बृहत कार्यक्रमले कस्तो भूमिका खेल्नेछ?
आगामी भदौ ७ गतेको बृहत कार्यक्रममा समग्र थरुहट आन्दोलनको कार्ययोजनाहरु प्रस्तुत गरिनेछ। यसले हालमा जेलमा रहनु भएको माननीय रेशम चौधरी लगायत ११ जना बन्दी, उच्च अदालतमा मुद्दा चलिरहेको हामी र फरार लिस्टमा परेका साथीहरुको मुद्दाहरुको बारेमा सकारात्मक र निर्णायक वातावरण तयार गर्नेछ। यसमा हामी सबै जना विश्वस्त होऔं।
तसर्थ, आगामी भदौ ७ गते टीकापुरमा सम्पूर्ण थारु, सम्पूर्ण आदिवासी/पहिचानवादी जनसमुदाय, पहिचानवादी अभियन्ताहरु उपस्थित भइदिनको लागि सबैलाई निमन्त्रणा पनि गर्दछु। भदौ ७ गते टीकापुर जाऔं, १ लाख थारु र आदिवासी समुदायको भेला गरौं।

Comments are closed.