पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

कैलालीमा थारुहरुको आमरण अनसन सुरु

थारुहरुप्रति राज्यले गरेको दमनको विरुद्ध कैलालीको धनगढीमा फागुन १ गतेदेखि थारुहरुले आमरण अनशन सुरु गरेका छन्।

शान्ति, सदभाव र अधिकारका लागि सुरु गरिएको सो आमरण अनसनको तत्कालको मुख्य मागहरुमा टीकापुरको झुट्ठा मुद्दा खारेज या फिर्ता गर्नुपर्ने तथा सांसद रेशमलाल चौधरी, वीरबहादुर चौधरी, हरिनारायण चौधरी, वृजमोहन चौधरी, प्रदीप चौधरी, राजेश चौधरी, सुन्दरलाल कठरिया, राजकुमार कठरिया, सन्तकुमार चौधरी, श्रमण चौधरी, गंगाराम चौधरीलगायत टीकापुर घटनाका दोषी करार गरिएका राजबन्दीहरुलाई रिहा गर्नुपर्ने रहेका छन्।

यसका साथै अधुरो, अपुरो, कालो संविधान संशोधन गर्नुपर्ने, थरुहट थारुवान र आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशीलगायतसँग राज्यले पटक पटक गरेका सम्पूर्ण सहमतिहरु कार्यान्वयन गर्नुपर्ने, थरुहट थारुवान आन्दोलनको क्रममा २०७२ साल भदौ ७ र ८ गते भएको टीकापुर घटनाको मुद्दाको छानविनका लागि गठित न्यायाधीश गिरिशचन्द्र दास लाल नेतृत्वको उच्च स्तरीय अधिकारसम्पन्न आयोगको प्रतिवेदन एवं देवीराम शर्मा नेतृत्वको प्रतिवेदन सार्वजनिक गनुपर्ने मागसमेत राखेका छन्। राज्यले यी मागहरुप्रति बेवास्ता गरे फागुन २ गतेबाट अन्य चरणको आन्दोलनको समेत तयारी गरिरहेको आयोजकले बताएका छन्।

थरुहट थारुवान राष्ट्रिय मोर्चा नेतृत्वमा भइरहेका यस आमरण अनसनरुपी आन्दोलन तथा यसपछिका यससँग जोडिदै जाने पहिचानवादीहरुको आन्दोलनको निमित्त संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले त्यही पुगेर कडा मन्तव्यसहित ऐक्यवद्धता जनाए र भने ‘जस्तोसुकै परिस्थिति आएपछि पछि हट्नेछैनौं।’
उनीसँगै मन्तव्यसहित ऐक्यवद्धता जनाउने अन्य नेताहरु थिए नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजु, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर.के खम्बु, खशान राष्ट्रिय संघर्ष समितिका उपाध्यक्ष रघुवीरसिंह ठगुन्ना, थरुहट तराई नेपाल लोकतान्त्रिक पार्टी अध्यक्ष भानुराम थारु, संयुक्त खश क्षेत्री नेपालका केन्द्रीय सहअध्यक्ष ताराबहादुर बस्नेत, मिशन अम्बेडकर नेपालका राष्ट्रिय अध्यक्ष मनोज, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल र संघीय दलित शिल्पी मञ्च नेपालका महासचिव शर्मिला बागचन्द  थिए।

होरीलाल चौधरीको अध्यक्षतामा आयोजक मोर्चा सदस्य टीकापुर राजबन्दी रामप्रसाद चौधरीले स्वागत मन्तव्य तथा आयोजक मोर्चाका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीको विशेष मन्तव्यसँगै आयोजक मोर्चा संयोजक लक्ष्मण थारुले आमरण अनसन शुरु भएको घोषणा गरे।

Comments are closed.