पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

ब्राह्मणवाद बिरुद्ध लडिरहेकाहरुवीच सहकार्य हुनैपर्छ

बलराम सदा (उपाध्यक्ष, संघीय दलित शिल्पी मञ्च, नेपाल)

बलरामजी, तपाईंको पूर्ण परिचय बताउनुस न। अनि प्रदेश नं. २ को अधिकांश जिल्लाहरुमा र प्रदेश नं. १ को तराइका जिल्लाहरुमा तपाईंले एकदमै धेरै मान्छेहरुसँग नजिकको सम्बन्ध बनाउनु भएको छ, यो कसरी सम्भव भयो?
मेरो नाम बलराम सदा हो, मेरो जन्म सप्तरी जिल्लाको कृष्णसबरन गाउँपालिका वडा नं. ३ मा भएको हो। हाल मेरो अस्थायी बसोबास मोरङ को सुनबर्शी ३ मा पनि छ, तर म दुवैतिर बराबर बसोबास गर्छु। म अहिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय दलित शिल्पी मञ्च, नेपालको केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी बहन गरिरहेको छु।
म एउटा गरीब परिवारमा जन्मेको मान्छे हँु। सानैदेखि मैले हाम्रो समुदायमाथि कथित ठूला जात, धनी बर्गले गरेको अन्याय अत्याचार हेर्दै सहँदै आएको छु। त्यसैले मलाई सानैदेखि यस्तो लाग्थ्यो कि आफ्नो समुदायमाथि भइरहेको अन्यायको बिरुद्धमा केही बोलौं। त्यसैले म हाम्रो समुदायमाथि भएको अन्यायको बिरुद्धमा जहिले र जहाँ पनि आवाज उठाउँछु। यही कारणले गर्दा म प्रदेश नं. १ र २ को तराइको धेरै नेता, जनताहरुलाई चिन्छु, उहाँहरुले पनि चिन्नु हुन्छ।

तपाईं सदा समुदायको हुनुहुन्छ, यस समुदायको बारेमा अलिकति बताई दिनुस् न।
सदा (मुसहर) समुदाय नेपालकै भूमिमा जन्मेको प्रकृतिपूजक जाति हो। यो जातिले मुख्य गरेर पुज्ने कुलदेवता दिनाभद्री हो। दिनाभद्रीको जन्म अनकन्टार जंगल भएको अवस्थामा हालको सप्तरी जोगियानगरमा भएको हो। आज हामी आफूलाई ऋषिकुल पनि भन्छौं। सोभरी भन्ने व्यक्ति हाम्रै कुलको गहना हो, जसको जुठो बयर हिन्दु धर्मका मर्यादापुरुष रामचन्द्रले खाएको कथा छ। जुन मुसहर समुदायको सोभरी भन्ने व्यक्तिको जुठी रामले खाए, तर आज त्यही मुसहरलाई अछुत दलित भनिएको छ। बडो अचम्म र अन्यायपूर्ण कुराहरु छन्।
यही सदा (मुसहर) लाई झापा, मोरङ, सुनसरीमा ऋषिदेव, सप्तरी सिराहामा सदा, पश्चिममा माझी, अझ पश्चिममा भोटे माझी, कतै देवर्शी/रिखासन/झागड/मुसहर पनि भनिन्छ।
हाम्रो दावी छ कि यस समुदायको जनसंख्या १० लाखको हाराहारीमा छ, तर सरकारी तथ्याङ्कले २ लाखको हाराहारीमा मात्र जनसंख्या देखाएको छ। सिराहा, सप्तरीमा सदा (मुसहर) समुदायको घनाबस्ती छ, प्रत्यक्ष सांसद जित्ने अवस्थाको बस्तीहरु छन्।

तपाईं यो विगत १५/१६ वर्षदेखि दलित मुक्ति अभियानमा निरन्तर लागिरहनु भएको छ, तपाईं यसरी निरन्तर लागि रहनुमा के ले तपाईंको आत्मालाई शक्ति दिइरहेको छ?
तराई मधेशमा हाम्रो दलित समुदायमाथि भएको विभेद मैले भोगेको छु। दलितमाथि भएको विभेद सम्झदा भक्कानो फुटेर आउँछ। त्यसैले हाम्रो समाजको मुक्तिको आवाज पनि उठोस्, हाम्रो कुरा पनि ठाउँमा पुगोस् भनेर म विगत १५/१६ वर्षदेखि दलित समुदायको लागि निरन्तर आवाज उठाइरेको छु, उठाइरहनेछु।

नेपाली समाजको मूल समस्या के हो? तराइका दलितहरु माथि कस्तो कस्तो विभेद भइरहेको छ?
जातीय समस्या नै नेपालको मूल समस्या हो। बर्गीय मुक्ति मात्रले जातीय समस्या समाधान गर्न सक्दैन म ठोकुवा दिएर भन्छु। पहिले जातीय समस्याको बारेमा छलफल, बहस र समाधान हुनुपर्छ अनि मात्र बर्गीय समस्या हल हुन्छ।
आज पनि तराई मधेशमा कथित उपल्लो जातिले इनार र धारामा दलितहरु गयो भने कुटाइ खाइरहेको अवस्था छ। मन्दिर प्रवेश निषेध, धनीमनीको घरमा काम गर्न नजाँदा कुटाइ खानु पर्ने, ऐलानी जमिनमा बसिरहेको दलितहरुलाई कहिले सरकारले कहिले गाउँका ठूला भनिएकाहरुले उठाउने र बिचल्ली बनाउने, दलितको छोरीचेलीमाथि बलत्कारको घटना हुँदा प्रशासनले नदेखे जस्तो गर्ने र दलितको छोराले सानो गल्ती गर्‍यो भने कानुन र सजाय लगाउने, यी यस्ता थुप्रै अन्यायहरु तराइ मधेशका दलितहरुले भोगिरहेको अवस्था छ।

अहिले प्रदेश नं. २ को मधेशवादी पार्टीहरुले र मधेश सरकारले मधेशका दलितका समस्याहरु कतिको हल गरिरहेका छन्?
अहँ, छैन। मधेशका १७५ दलितका समस्याहरु ज्यूँ का त्यूँ छन्। आज पनि मधेशमा कथित उपल्लो जातकै बर्चश्व चलिरहेको छ। खै, कुन दलितलाई मधेश सरकारको महत्वपूर्ण जिम्मेवारी दिइएको छ त। त्यसैले अब दलितका समस्या समाधान गर्न हामी दलित समुदाय आफै उठ्नु पर्छ भनेर हाम्रो समुदायमा ब्यापक बहस उठिरहेको छ। अब अरुको भर नपरौं सबै दलित आफै आफ्नो लागि उठौं भन्ने चेतना गाउँ गाउँमा विकसित भइरहेको छ।

अब दलितहरु कुन रणनीतिका साथ अघि बढ्नु पर्ला?
सबै भन्दा पहिले मधेशका दलित र पहाडको दलितले सहकार्य गर्नुपर्छ, यद्यपि पहाडे र तराइका दलितहरुको धेरै समस्या मिले पनि केही फरक समस्याहरु पनि छन्। जस्तो पहाडे दलितलाई भाषाको समस्या छैन। तर, हामी तराइका दलितले यो बाहुनको राज्य भाषा पनि पटक्कै बुझ्दैनौं नि त। तर पनि यी दुई दलित समुदायवीच सहकार्य हुनुपर्छ, र सबै भन्दा मुख्य कुरा त ब्राह्मणवादसँग लडिरहेका आदिवासीहरु लिम्बुवान, खम्बुवान, शेर्पा, नेवा:, तामाङ, गुरुङ, मगर, खश, थारु र दलितहरुवीचमा आन्दोलन र चुनाव दुबैमा सहकार्य हुनै पर्छ।

यो १०ं१ अन्तर्गत दलित शिल्पी प्रान्त र तपाईंको आफ्नो संगठनको बारेमा अलिकति बताई दिनुस न।
देश संघीयतामा गइसकेको छ र यो ७ प्रान्तलाई संशोधन गरेर १०ं१ प्रान्त बनाउनु पर्छ भनेर जताततै आवाज उठिरहेको छ। यो अवस्थामा सयौं वर्षदेखि विभेदमा पारिएका दलितहरुले पनि समग्र देशलाई एक प्रान्त मानेर दलित शिल्पी गैरभौगोलिक प्रान्त पाउनु पर्छ भनेर हामीले आवाज उठाइरहेका छौं।
र, म सबै भन्दा धेरै धन्यवाद हाम्रो मूल पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दिन चाहान्छु, जसले नेपालमा नै नयाँ प्रकारको पार्टी संरचना विकसित गरेर दलितहरुलाई अघि बढन प्रेरणा दिइरहेको छ। हामी दलित शिल्पीहरुलाई मञ्चले दलित शिल्पीकै झण्डा, नाम विकसित गर्न प्रोत्साहन गरिरहेको छ।

आफ्नो क्षेत्रमा संगठन विस्तारलाई कसरी अघि बढाइरहनु भएको छ त? तपाईं जत्तिको सक्षम नेता अर्को चुनावमा त संसदमा चुनिएर आउनु पर्‍यो नि?
प्रदेश नं. २ को सबै जिल्लाहरु र प्रदेश नं. १ को ३ जिल्लाहरुमा यही ८ महिनाभित्रमा संगठन बिस्तार गरिसक्ने लक्ष्य लिएका छौं। अहिले प्रशिक्षण, भेटघाट, सम्पर्क तिब्र पारेका छौं। एक वर्षभित्रमा यस क्षेत्रको सबै दलित समुदायको घर घरमा मञ्चको चुनाव चिन्ह दापसहितको खुकुरीलाई पुर्‍याउने लक्ष्य लिएर काम गरिरहेका छौं। म आफूलाई केन्द्रित गरेर त नबोलौ तर आउँदो चुनावसम्ममा प्रदेश नं. २ बाट मञ्चको खुकुरी चिन्ह लिएर धेरै जना सांसद चुनिन्छन, यहाँको माहोल आफसेआफ यस्तो बन्दैछ।

सह–अस्तित्व आवाज पत्रिका तपाईंको क्षेत्रमा पुग्दैछ?
यो पत्रिका हामो क्षेत्रमा राम्ररी पुग्दैछ। यो पत्रिकाले गरीब दु:खी दलितहरुको कुरा लेख्ने हुनाले हाम्रो समुदायको मान्छेहरु अति खुशी छौं।

Comments are closed.